
इनास, ग्लोबल,
आउदो २४ र २५ तारिक बेल्जियममा हुन लागेको एघारौं युरोप क्षेत्रीय कार्यक्रम अन्तर्गत नृत्य र गायन प्रतियोगितामा नेदरल्याण्डका तर्फबाट भाग लिनका लागि अडिसनबाट छनौट हुने कलाकार नृत्यतर्फ ईप्सा टण्डन र गायनतर्फ बिन्दू कँडेल छनौट भएका छन्। गत ८ मार्च २०२६ का दिन आयोजित अडिसन कार्यक्रमबाट उनीहरु छनौट भएका हुन्। उक्त अडिसनमा विजेता संगै भाग लिएका नृत्यतर्फ श्री सलिना कार्की, श्री सुशान्त खत्री, श्री सुप्रिया अधिकारी र गायन तर्फ र अंशु गिरी लगायतका कलाकारहरुले भाग लिएका थिए।
विश्व नारी दिवसको अवसर पारेर गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्डस र विशेष गरि महिला फोरमसंगको सहकार्यमा आयोजना गरिएको उक्त अडिसन कार्यक्रममा सबै प्रतियोगी कलाकारहरुले निकै अब्बल प्रतिभा प्रदर्शन गरेर सबैको मन जितेका थिए। वरिष्ठ अभिनेत्री श्री वर्षा खड्काज्यू, ख्यातिप्राप्त नृत्य निर्देशक तथा कलाकार श्री राजु तमू, इनास युरोप महादेशस्तरीय नृत्य प्रतियोगिताकी पूर्वटाइटल बिजेता तथा चर्चित नृत्यांगना श्री सरिता हुमागाईं, गायक श्री निर्मोह घोरासैनी र श्री चन्दना खड्का रहेको निर्णायक मण्डलले सहभागीमध्ये उत्कृष्टलाई विजेता छनौट गरेको थियो।
इनास ग्लोबलका संस्थापक अध्यक्ष श्री पुष्प बरुवालको प्रमूख आतिथ्य र इनास नेदरल्याण्डस राष्ट्रिय समितिका अध्यक्ष चन्दना खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ग्लोबल सल्लाहकार प्रा.ई. श्री डिपी मैनाली, ग्लोबल मिडिया समितिका सहसंयोजक श्री द्रोण रिजाल, ग्लोबल प्रतिनिधि श्री अमृता केसी टण्डन, गैर आवासीय नेपाली संघका अध्यक्ष श्री बिष्णु पोखरेल र श्री सावित्री पौडेल, आइसीसी सदस्य श्री सिता सापकोटा, इनास नेदरल्याण्डसका सल्लाहकार श्री थानेश्वर गौतम, श्री प्रकाश गिरी, नेपाली जनसम्पर्क समितिका अध्यक्ष श्री सालिकराम गौतम, नेपाली व्यवसायी संघ नेदरल्याण्डसका अध्यक्ष श्री संघर्षशील केसी लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो।
कार्यक्रमको उदघाटन सत्रमा जेनिशा कँडेल, सुप्रिमा पौडेल, दीक्षा कार्की, यालना थापा, सान्वी गौतम, सारिगा गौतम लगायतका बाल कलाकारहरुले निकै मनमोहक स्वागत नृत्य प्रस्तुत गरेर सबैको मन जितेका थिए भने नारी दिवस कार्यक्रममा इनासका तर्फबाट श्री अमृता केसी टण्डन, श्री सरोज गिरी ढकाल, श्री शीला बस्नेत, श्री लक्ष्मी ढुङ्गाना लगायतका कलाकारहरुले सुन्दर नृत्य प्रस्तुत गरेर सबैबाट वाहवाहि पाएका थिए। इनास नेदरल्याण्डसकी उपाध्यक्ष श्री सरोज ढकाल गिरीद्वारा अतिथि तथा सहभागीहरुको स्वागत मन्तव्य प्रस्तुत गरिएको उक्त अडिसन कार्यक्रमको संचालन इनास नेदरल्याण्डसकी महासचिव र सदस्य कबिना खड्काले गर्नुभएको थियो।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा इनास नेदरल्याण्डले सहभागी सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ।महासचिव पूजा थापा खड्काद्वारा जारी सन्देशमा विजेता कलाकारहरुलाई वधाई दिदै फाइनल प्रतियोगितामा विजयको लागि शुभकामना दिनुका साथै अन्य प्रतियोगी र अप्रतियोगी सबै कलाकारहरु, कार्यक्रमलाई सफल बनाउन अहोरात्र खट्ने कार्यसमितिका सबै पदाधिकारीहरु, संरक्षक सल्लाहकारहरु, गैर आवासीय नेपाली संघ नेदरल्याण्डस र नेदरल्याण्डसस्थित सबै संघसंस्थाहरुलाई सहभागिता, सहकार्य र सहयोगको लागि हार्दिक आभासहित र व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको छ।