इनासको नवौं युरोप क्षेत्रीय कार्यक्रम भव्यरुपमा सम्पन्न, दशौँ क्षेत्रीय कार्यक्रम डेनमार्कमा हुने

इनासको नवौं युरोप क्षेत्रीय कार्यक्रम भव्यरुपमा सम्पन्न, दशौँ क्षेत्रीय कार्यक्रम डेनमार्कमा हुने

पेरिस । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युरोपको वार्षिक भेलासहित महादेशस्तरीय एकल नृत्य र गायन प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । गत ११ र १२ मे २०२४ का दिन फ्रान्सको पेरिस शहरमा भएको उक्त कार्यक्रममा बेलायत, जर्मनी, पोल्याण्ड, बेल्जियम, चेक गणतन्त्र, डेनमार्क लगायतका राष्ट्रिय समितिहरुले प्रत्यक्ष रुपमा आफ्ना प्रगति विवरण र भावी योजनाहरु प्रस्तुत गरेका थिए। 

कार्यसम्पादनको आधारमा हरेक वर्ष प्रदान गरिने ‘उत्कृष्ट युरोप राष्ट्रिय समिति’ को अवार्ड यस वर्ष राष्ट्रिय समिति बेल्जियमले प्राप्त गर्न सफल भयो भने हरेक वर्ष आयोजना हुने इनासको दशौं युरोप क्षेत्रीय कार्यक्रम आगामी वर्ष डेनमार्कमा आयोजना हुने घोषणा गरिएको इनास युरोप संयोजक तथा ग्लोवल प्रवक्ता प्रकाश तिवारीले जानकारी गराए ।

इनास ग्लोबलका अध्यक्ष पुष्प बरुवालको प्रमूख आतिथ्यता र युरोप संयोजक प्रकाश तिवारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा इनासका निवर्तमान अध्यक्ष तथा संरक्षक, सल्लाहकारहरु, आयोजक राष्ट्र फ्रान्स लगायत विभिन्न राष्ट्रिय समितिका अध्यक्ष, तथा पदाधिकारीहरु लगायतका फ्रान्स स्थित विभिन्न स्थानीय संघ संस्थाहरुका प्रतिनिधिहरुले यस प्रकारको वृहत कार्यक्रम आयोजना हुदा र कार्यक्रममा सहकार्य गर्न पाउँदा खुसी लागेको विचार ब्यक्त गर्दै कार्यक्रमको सफलताको लागि शुभकामना दिएका थिए ।

कार्यक्रमको मूख्य आकर्षक रहेको दोश्रो सत्र नवौं युरोपियन एकल नृत्य तथा छैठौं गायन प्रतियोगिता सफलताका साथ सम्पन्न भयो। इनास फ्रान्सका अध्यक्ष आभाष आचार्यको अध्यक्षता र फ्रान्सका लागि नेपाली राजदूत महामहिम सुधिर भट्टराईको प्रमूख आतिथ्यता रहेको उक्त सांस्कृतिक प्रतियोगितात्मक कार्यक्रममा बेलायत, डेनमार्क, जर्मनी, फ्रान्स, नेदरल्याण्ड, बेल्जियम, पोल्याण्ड, चेक गणतन्त्र, स्पेन लगायतका मुलुकहरुबाट छनौट भई आएका कलाकारहरुले भाग लिदै लोक र आधुनिक गरि दुई विधामा आ-आफ्नो प्रस्तुतिहरु दिएका थिए ।

निकै कडा प्रतिष्पर्धात्मक प्रतियोगितामा नृत्य तर्फ जर्मनीकी मटिना शाक्य, प्रथम फ्रान्सकी दिलिशा भट्ट र नेदरल्यान्ड्सकी अनुष्का टन्डनले क्रमशः दोश्रो र तेश्रो स्थान हासिल गरे भने गायनतर्फ पोल्याण्डका सुसिल बिश्वकर्मा प्रथम, डेनमार्कका मनिष लिम्बु दोश्रो र फ्रान्सका कुशल पाख्रिन तेश्रो स्थान हासिल गर्दै क्रमशः आठ सय, पाँच सय र तीन सय यूरो नगद पुरष्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

त्यसैगरी यसपटक देखि युरोप क्षेत्रीय समितिको संयोजकको कार्यकालमै रहँदा  स्वर्गीय भएका कलाकार तथा नृत्यका विद्यार्थी तथा गुरु सन्तकुमार थापा मगरको सम्झनामा "सन्त कुमार थापा मगर बिशेष सम्मान" को ट्रफी तथा नगद १५० युरो नृत्य विधामा सान्त्वना स्थान हाँसिल गरेकी बेल्जियमकी चोक्तेन लामालाई प्रदान गरिएको थियो। बिशेष सम्मानको लागि नगद पुरष्कार स्वर्गीय मगरकी श्रीमती मलिका प्रदानले आयोजकलाई उपलब्ध गराएको बताइएको छ।

यसैबीच बेलायत निवासी कलाकार बिनोद चिपालुलाई इनास युरोप क्षेत्रीय समितिले सम्मान गरेको छ । विगत २५ वर्षदेखि  परम्परागत लाखे नृत्य मार्फत नेपाली कला सम्वर्द्धन तथा प्रर्वद्धनमा योगदान दिएको भन्दै कलाकार चिपालुलाई सम्मान गरिएको इनासले जनाएको छ । 

फ्रान्सस्थित स्थानीय संघसंस्था, बुद्धिजिवी, समाजसेवी लगायत स्थानियहरुको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण संघ(संस्था तथा व्यक्तित्वहरुलाई आयोजकले विशेष धन्यवाद ज्ञापन गरेका थिए।

© 2026 All right reserved to INAS GLOBAL  | Site By : sobij