इनासको युरोपस्तरीय नृत्य र गायन प्रतियोगिता सम्पन्न । उत्कृष्ट कार्यसम्पादनको अवार्ड इनास बेल्जियमलाई

इनासको युरोपस्तरीय नृत्य र गायन प्रतियोगिता सम्पन्न । उत्कृष्ट कार्यसम्पादनको अवार्ड इनास बेल्जियमलाई

पेरिस । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को युरोप स्तरीय एकल नृत्य तथा गायन प्रतियोगिता सम्पन्न भएको छ । गत आइतबार पेरिसमा एक कार्यक्रमकाबीच युरोपका कलाकारहरुको बेजोड प्रस्तुतिसँगै कार्यक्रम सम्पन्न भएको हो ।

नवौँ एकल नृत्य प्रतियोगिताको उपाधि जर्मनीकी मटीना शाक्यले जितेकी छन् । फ्रान्सकी दिलासा भट्ट दोस्रो र नेदरल्यान्ड्सकी अनुष्का टन्डनले तेस्रो स्थान हासिल गरिन् ।

बेलायत, डेनमार्क, जर्मनी, फ्रान्स, नेदरल्याण्ड, बेल्जियम, पोल्याण्ड, चेक गणतन्त्र, स्पेन लगायतका मुलुकहरूबाट छनौट भई आएका कलाकारहरुले फाइनल प्रतिस्पर्धामा भाग लिएका थिए । लोक र आधुनिक गरी दुई विधामा आ-आफ्ना प्रस्तुतिहरू दिँदै कलाकारहरु प्रतिस्पर्धामा उत्रिएका थिए।

फ्रान्सका लागि नेपाली राजदूत सुधिर भट्टराईले कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै नेपाली कला र संस्कृतिको जगेर्नाका लागि इनासले खेलेको भूमिकाको प्रशंसा गरे । आयोजक राष्ट्र इनास फ्रान्सका अध्यक्ष आभाष आचार्यले पेरिसमा कार्यक्रम सफल पार्न सहयोग पुर्‍याउने संघसंस्था लगायत सहयोगदाताहरुप्रति कृतज्ञता व्यक्त गरेका थिए।

उत्कृष्ट कार्यसम्पादनको अवार्ड इनास बेल्जियमलाई

यसैबीच अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युरोप स्तरीय भेला गत शनिबार पेरिसमा सम्पन्न भएको छ । नृत्य र गायन प्रतियोगिता अघि नै सुरु भएको भेलामा इनासले युरोपमा गर्दै आएका गतिविधिको बारेमा मुख्य चर्चा भएको थियो ।

भेलामा बेलायत, जर्मनी, पोल्याण्ड, बेल्जियम, चेक गणतन्त्र, डेनमार्क लगायतका राष्ट्रिय समितिहरुले प्रगति विवरण र भावी योजनाहरु प्रस्तुत गरेका थिए । कार्यसम्पादनको आधारमा युरोपभरबाट उत्कृष्ट राष्ट्रिय समितिको अवार्ड इनास बेल्जियमले जितेको छ ।

इनास ग्लोबलका संस्थापक पुष्प बरुवालको प्रमुख आतिथ्यता र युरोप संयोजक प्रकाश तिवारीको अध्यक्षतामा युरोपेली भेला सम्पन्न भएको हो ।

इनासको दशौं युरोप क्षेत्रीय भेला तथा युरोप स्तरीय विविध कार्यक्रम आगामी वर्ष डेनमार्कको कोपनहेगनमा गर्ने निर्णय भेलाले गरेको छ।

 सन्त कुमारको सम्झना

इनास युरोपका पूर्व संयोजक स्व. सन्तकुमार थापा मगरको पेरिस कार्यक्रममा सम्झना गरिएको थियो । तीन वर्ष अघि उनको ४१ वर्षको उमेरमा नै निधन भएको थियो ।

डेनमार्कमा उनको बसाइ भए पनि युरोप भर परिचित थिए सन्त कुमार । युरोपका देशहरुमा पुगेर उनले नृत्य नगरेको सायदै होला । श्रीमती मलिका प्रधानसँगै युगल नृत्य युरोपको नेपाली समुदायले असाध्यै रुचाएको जोडी थियो ।

‘सन्त कुमार थापा मगर विशेष सम्मान’ ले बेल्जियमकी कलाकार चोक्तेन लामालाई सम्मान गरिएको छ । १५० युरो नगदसहित ट्रफी दिएर कलाकार लामालाई सम्मान गरिएको थियो । नवौं युरोप स्तरीय एकल नृत्य प्रतियोगितामा लामाले  सान्त्वना स्थान प्राप्त गरेकी थिइन् । लामालाई प्रदान गरिएको नगद रकम स्व. मगरकी पत्नी मलिका प्रधानले उपलब्ध गराएकी हुन् ।

यसैबीच बेलायत निवासी कलाकार बिनोद चिपालुलाई इनास युरोप क्षेत्रीय समितिले सम्मान गरेको छ । विगत २५ वर्षदेखि  परम्परागत लाखे नृत्य मार्फत नेपाली कला सम्वर्द्धन तथा प्रर्वद्धनमा योगदान दिएको भन्दै कलाकार चिपालुलाई सम्मान गरिएको इनासले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
 २०८१ जेठ ४ गते ८:०९

© 2026 All right reserved to INAS GLOBAL  | Site By : sobij