बर्लिन कार्निवलमा झल्किएको नेपाल (फोटो फिचर)

बर्लिन कार्निवलमा झल्किएको नेपाल (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
 २०८१ जेठ १० गते ७:४३
barlin-carnival-7.jpg
undefined

१० जेठ, बार्सिलोना । सेन्टर बर्लिनको केन्द्रभागमा रहेको सडक । जहाँ रातो रङको ट्रक गुडिरहेको थियो ।

ध्वजापतकादेखि आँखिझ्यालले सजिएको ट्रक । नेपालका पर्यटकीय स्थलहरुको फ्लेक्सहरु समेत राखेर सजाइएको ।

यस्तो लाग्थ्यो, ट्रकले सिंगो नेपाल बोकिरहेको छ ।

दायाँतर्फ ‘सुन्दर शान्त नेपाल’ लेखिएको रातो ठूलो पोस्टर । अघि र पछि लाखे नृत्य । वरिपरि विभिन्न जातजातिका सांस्कृतिक झाँकीहरुको प्रदर्शन ।

barlin-carnival-12.jpg
undefined

ट्रकभन्दा पछाडि अलग्गै बौद्ध स्तूप । स्तूपमा टायर राखिएकोले सडकमै गुड्ने । एकातर्फ सिंगो नेपाल बोकेको ट्रक र अर्कोतर्फ बौद्ध स्तूप गुडिरहेकोको दृश्य । भान हुन्थ्यो, बर्लिनमै नेपाल छ ।

त्यसैले पनि जर्मनीको राजधानी बर्लिनको दृश्यले ‘मिनी नेपाल’ को झझल्को दिन्थ्यो।

यो मे १७ देखि २० सम्म सडकमा नै चलेको बर्लिन कार्निवलमा दृश्य हो । जहाँ ५८ देशका ५००० भन्दा बढी कलाकारहरुले सडकमा नै घन्टौं नृत्य गरेका थिए । ५ लाख भन्दा बढी दर्शकले सडक किनाराबाट अवलोकन गरे ।

कार्भिवलमा नेपालको ‘इनास  सम्सारा’ टोली पहिलो बन्न सफल भएको छ । नेपाली टोलीले एक हजार युरो नगदसहित प्रमाणपत्र प्राप्त गरेको छ । त्यो भन्दा पनि बढी नेपालको जातीय र सांस्कृतिक विविधता, नृत्य, संगीत र कला प्रदर्शनको उजागर गरेको छ ।

इनास जर्मनी र सम्सारा बर्लिन दुवै छुट्टाछुट्टै संस्थाहरु हुन् । तर दुवै संस्थाले मिलेर ‘इनास सम्सारा’ को नाममा नेपालको प्रतिनिधित्व गरेका हुन् ।

नेपालको प्रतिनिधित्व गर्दै ३२ जना कलाकारहरू विभिन्न वेषभूषामा सजिएका थिए । जातीय वेषभूषामा, बाजागाजा र झाँकीसहित संगीतकर्मी र स्वयंसेवक गरी सयौंको संख्यामा थिए नेपालीहरू । जहाँ जीवित देवी मानिने कुमारी परम्परा र लाखे नृत्यलाई पनि छुटाइएको थिएन । चार किलोमिटर उनीहरु सडकमा नै नाच्दै हिँडे । निर्णायक प्यानल नजिकै पुग्दा उनीहरुको प्रस्तुति गजबको थियो । कलाकारहरु नृत्य गर्दै थिए नेपथ्यको ‘कर्णाली’ बोलको गीतमा।

जौका बारी, गौका पुला कम्पनी

स…! पुल बान्दी जया बैनै कम्पनी

स…! हास्दैँ खेल्दै दिन काटम्ला कम्पनी

स…!घरबार्‍या न भया बैनै कम्पनी

झल्काइदऊ झल्काइदेउ 

गलैको कम्पनी माला झल्काइदेउ …

नृत्यमा थारु, गुरुङ, नेवार, बाहुन, क्षेत्री, तामाङ, शेर्पा, राईलगायत विभिन्न जातजातिको वेषभूसा झल्किएको थियो । नेपाली नृत्यले निर्णायक प्यानलको समेत मन जित्यो । सन् २०११ देखि कार्निवलमा सहभागिता जनाउदै आएको नेपाल अन्तत : यो वर्ष सर्वोत्कृष्ट बन्यो।

जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काले कार्निवलमा ‘सुन्दर शान्त विशाल’ को थिम नेपालले प्रस्तुत गरेको बताए । ‘विविधतालाई हामीले एकताको स्रोतको रुपमा लिन्छौं । विश्व समुदाय माँझ कलामार्फत पनि त्यही सावित गरेको छौं’, उनले भने । प्रस्तुतिमा एनआरएनए जर्मनी, नेपाल पर्यटक बोर्ड र नेपाली राजदूतावास जर्मनीले सहयोग गरेका थिए ।

बर्लिनको केन्द्रभागको सडकमा गरिएका नृत्यहरु अहिले सामाजिक संजालमा भाइरल बनेका छन्। सामाजिक सञ्जाल फेसबुकदेखि टिकटकसम्म परदेशमा नेपालको सामूहिक नृत्य निकै रुचाइएको छ । नेपालदेखि डायस्पोरामा रहेका नेपालीले मुक्त कण्ठले प्रशंसा गरेका छन्।

इनास जर्मनीकी अध्यक्ष लेजुना श्रेष्ठले मेहनतको फल आफूहरुले प्राप्त गरेको बताइन् । ‘सबैको समय मिलाएर ठूलो ग्रुपमा डान्सको तयारी गर्न ठूलो चुनौती थियो’, अध्यक्ष श्रेष्ठले भनिन्, ‘सम्सारा बर्लिनकी प्रतिनिधि अनिता मोक्तान बहिनी र मैले नै नृत्यको कोरियोग्राफ गरेका हौं ।’

कार्निवलमा देखाइएको बौद्ध स्तूप बनाउन पनि ठूलो मेहेनत लागेको श्रेष्ठले बताइन् । ‘सुनिल रानामगर र जर्मनी नागरिका बेन्जामिनको टिम र साथीहरुको सहयोगमा जर्मनीमा नै स्तुपा तयार गरिएको हो। एक महिना पहिले देखिनै उहाँहरुले योजना बनाएर तयार गर्नुभयो’, उनले भनिन् ।

समाचारको लिंक : https://www.onlinekhabar.com/2024/05/1483786

© 2026 All right reserved to INAS GLOBAL  | Site By : sobij