इनासको दशौं युरोपियन कार्यक्रमको सम्पूर्ण तयारी पूरा

इनासको दशौं युरोपियन कार्यक्रमको सम्पूर्ण तयारी पूरा

10-INAS-EU-Banner.jpg
10thINAS-EU-Banner

आइतबार, ४ फाल्गुन २०८१

inas-denmark.jpg

युरोप, डेनमार्क, 
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को दशौं युरोप क्षेत्रीय कार्यक्रम आगामी मे १६ र १७ मा डेनमार्कको राजधानी कोपनहेगनमा भव्य रूपमा आयोजना हुन गइरहेको छ। कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जानकारी दिएको छ।

यसपटकको कार्यक्रम दशौं युरोपस्तरीय एकल नृत्य तथा सातौं एकल गायन प्रतियोगितासहित सम्पन्न हुँदैछ। इनास युरोप क्षेत्रीय समिति र आयोजक राष्ट्र इनास डेनमार्कको संयोजनमा, युरोपभरका इनास राष्ट्रिय समितिहरूको प्रत्यक्ष सहकार्य र सहभागितामा कार्यक्रम आयोजना गरिनेछ।

९–९ जना प्रतियोगीको सहभागिता

इनास युरोप संयोजक प्रकाश तिवारीका अनुसार प्रतियोगितामा विभिन्न युरोपेली राष्ट्रहरूबाट अडिसनमार्फत छनौट भएका ९–९ जना प्रतिभावान कलाकारहरूले नृत्य र गायन दुबै विधामा प्रतिस्पर्धा गर्नेछन्।

दुई दिने कार्यक्रमको स्वरूप

  • पहिलो दिन (मे १६):
    इनास युरोप अन्तर्गत रहेका राष्ट्रिय समितिहरूको बैठक, प्रगति विवरण प्रस्तुतिकरण, र भावी कार्ययोजनाको छलफल गरिनेछ।

  • दोस्रो दिन (मे १७):
    मुख्य आकर्षणका रूपमा नृत्य र गायन प्रतियोगिताका साथै विविध सांस्कृतिक प्रस्तुतिहरू हुनेछन्।

    nepali-baja-samuha.jpg
    NepaliBajaSamuha-Denmark

मुख्य सांस्कृतिक आकर्षणहरू

  • नेवा गुठि डेनमार्कद्वारा परम्परागत लाखे नाच सहित अन्य विभिन्न झाँकी तथा लोक नृत्यहरु प्रस्तुत गर्नेछ। 

  • नेपाली बाजा समूह डेनमार्कद्वारा पञ्चे बाजा प्रस्तुति

  • चर्चित गायिका नलिना चित्रकारको विशेष सांगीतिक प्रस्तुति

    poster-nalina.jpg
    Nalina-Chitrakar

इनास ग्लोबल महासचिव तथा कार्यक्रम संयोजन प्रतिनिधि राजमान तामाङले यी कार्यक्रमहरू युरोपभरका नेपाली समुदायबीच एकता, सांस्कृतिक सम्पर्क र प्रतिभाको प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

विशाल सहभागिता अपेक्षित

बेलायत, फ्रान्स, बेल्जियम, अष्ट्रिया, जर्मनी, नेदरल्याण्ड, इटाली, पोल्याण्ड, स्पेन, पोर्चुगल, चेक गणतन्त्र, आइसल्याण्डलगायत युरोपका विभिन्न देशहरूबाट उल्लेख्य संख्यामा कलाकार, साहित्यकार, पत्रकार, गैरआवासीय नेपाली संघ, नेपाली कुटनीतिक निकायका प्रतिनिधिहरू तथा अन्य संघसंस्थाका पदाधिकारीहरूको सहभागिता रहनेछ। साथै अन्य महादेशहरूबाट समेत इनास तथा सम्बन्धित संस्थाहरूका प्रतिनिधिहरूको उपस्थिति रहनेछ।

इनास डेनमार्कका अध्यक्ष सुदीप बाबु श्रेष्ठले, कार्यक्रमलाई सफल बनाउन युरोपभरका विभिन्न संघ–संस्था, व्यवसायी, मिडियाकर्मी तथा स्वेच्छाले आर्थिक र अन्य माध्यमबाट सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरेका छन्। साथै, बाहिरबाट आउने अतिथिहरूको स्वागतका लागि डेनमार्कमा सम्पूर्ण तयारी पूरा गरिएको जानकारी समेत दिएका छन्।

 

© 2026 All right reserved to INAS GLOBAL  | Site By : sobij