शुक्रवार तथा शनिवार डेनमार्कको कोपेनहेगनमा दशौँ इनास यूरोप क्षेत्रीय कार्यक्रम

शुक्रवार तथा शनिवार डेनमार्कको कोपेनहेगनमा दशौँ इनास यूरोप क्षेत्रीय कार्यक्रम

काठमाडौं– यही शुक्रवार तथा शनिवार अर्थात मे १६ तथा १७ का दिन डेनमार्कको कोपेनहेगनमा दशौँ इनास यूरोप क्षेत्रीय कार्यक्रम आयोजना हुँदैछ । इनास युरोपको आयोजनामा सञ्चालन हुने उक्त कार्यक्रमको क्रममा १०औं इनास युरोप एकल नेपाली नृत्य तथा सातौं गायन प्रतियोगितासमेत सञ्चालन हुँदैछ ।

आयोजक राष्ट्र इनास डेनमार्कका अध्यक्ष सुदिपबाबु श्रेष्ठका अनुसार गायन प्रतियोगिताका निर्णायकहरुमा कन्हैया सिंह परियार, नलिना चित्रकार तथा सन्देश बम्जन लामा छन् भने नृत्यतर्फ पार्वती अधिकारी, जगत खड्का तथा रजिना नापित रहने छन् ।

यसैबीच, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युरोप क्षेत्रीय समिति अन्तर्गत आयोजना हुन गइरहेको दशौं युरोपस्तरीय कार्यक्रममा पञ्चे बाजा, लाखे नृत्यसहितको सागीतिक कार्यक्रम समावेश हुने आयोजक संस्थाले जनाएको छ ।

आयोजक संसथाले दिएको जानकारी अनुसार यस पटकको कार्यक्रम दशौं युरोपस्तरीय एकल नृत्य तथा सातौं एकल गायन प्रतियोगितासहित सम्पन्न हुनेछ । इनास युरोप क्षेत्रीय समिति र आयोजक राष्ट्र इनास डेनमार्कको संयोजनमा, युरोपभरका इनास राष्ट्रिय समितिहरूको प्रत्यक्ष सहकार्य र सहभागितामा कार्यक्रम आयोजना गरिने बताइएको छ ।

इनास युरोप संयोजक प्रकाश तिवारीका अनुसार, अडिसनमार्फत विभिन्न युरोपेली राष्ट्रहरूबाट छनोट भएका नौ–नौ जना प्रतिभाशाली कलाकारले नृत्य र गायन दुवै विधामा प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो दिनको कार्यक्रम अन्तर्गत इनास युरोप अन्तर्गतका राष्ट्रिय समितिहरूको बैठक, प्रगति प्रतिवेदन प्रस्तुतिकरण, तथा भावी कार्ययोजनाका विषयमा छलफल गरिने छ भने दोस्रो दिनको कार्यक्रम अन्तर्गत नृत्य तथा गायन प्रतियोगितासँगै विविध सांस्कृतिक प्रस्तुतिहरू हुनेछन् ।

नेवा गुठि डेनमार्कद्वारा परम्परागत लाखे नाचसहित विभिन्न सांस्कृतिक झाँकी तथा लोक नृत्य प्रदर्शन, नेपाली बाजा समूह डेनमार्कद्वारा पञ्चे बाजाको विशेष प्रस्तुति  रहने छ ।

इनास ग्लोबल महासचिव तथा कार्यक्रम संयोजन प्रतिनिधि राजमान तामाङले यस्ता कार्यक्रमहरूले युरोपभर रहेका नेपाली समुदायहरूबीच एकता, सांस्कृतिक सम्बन्ध विस्तार र प्रतिभा विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा बेलायत, फ्रान्स, बेल्जियम, अष्ट्रिया, जर्मनी, नेदरल्याण्ड, इटाली, पोल्याण्ड, स्पेन, पोर्चुगल, चेक गणतन्त्र, आइसल्याण्ड लगायत युरोपका विभिन्न राष्ट्रहरूबाट उल्लेख्य संख्यामा कलाकार, साहित्यकार, पत्रकार, गैरआवासीय नेपाली संघ, नेपाली कूटनीतिक नियोग तथा अन्य संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहने छ ।

© 2026 All right reserved to INAS GLOBAL  | Site By : sobij