त्यसैगरि कार्यक्रममा उपस्थित महिला दिदीबहिनीहरु मध्येबाट तीज क्विनको उपाधि एलिजा श्रेष्ठले जितिन्। उक्त उपाधिका लागि ६ जना मनोनयनमा परेका थिए ।
प्रवेश नि:शुल्क रहेको कार्यक्रममा विभिन्न नेपाली खानाका परिकारहरु समेत राखिएको थियो। तीज गीतमा सामूहिक नृत्य समेत गरिएको थियो।
अष्ट्रियाको लागि नेपाली राजदूत तथा भियनास्थित संयुक्त राष्ट्र संघको कार्यालयमा नेपालको स्थायी प्रतिनिधि भरतकुमार रेग्मीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
भर्खर अष्ट्रियामा आउने बित्तिकै पहिलो औपचारिक कार्यक्रममा सहभागी हुन पाएकोमा राजदूत रेग्मीले खुशी व्यक्त गरे ।
उनले नेपाली समुदायको सेवाका लागि आँफू कुनै पनि बेला काम गर्न तयार रहेको प्रतिवद्वता व्यक्त गरे ।
कार्यक्रममा इनास युरोपका संयोजक प्रकाश तिवारीले विशेष अतिथिको रुपमा बोल्दै इनास अष्ट्रियाको सक्रियताको प्रंशसा गरे।
उनले इनास युरोप र ग्लोवलको समेत प्रतिनिधित्व गर्दै कार्यक्रममा सहाभागी भएको भन्दै आगामी दिनमा पनि कला र संस्कृतिको जर्गेनाका लागि यस्ता कार्यक्रमहरुको निरन्तरता दिनुपर्ने बताए ।
इनास अष्ट्रियाका अध्यक्ष स्याण्डी भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सम्झना बोहराले नेपाली भाषामा र महासचिव शिला अधिकारीले जर्मन भाषामा कार्यक्रमको संचालन गरेका थिए । उपाध्यक्ष नवीन कार्कीले शुभकामनाका साथ स्वागत गरेका थिए ।


