भूकम्पपछि त्रिपालमुनि बसिरहेका सुत्केरीलाई इनास फ्रान्सको आर्थिक सहयोग

भूकम्पपछि त्रिपालमुनि बसिरहेका सुत्केरीलाई इनास फ्रान्सको आर्थिक सहयोग

रुकुम पश्चिम — भूकम्पका कारण यतिबेला सबैभन्दा बढी बालबालिका, जेष्ठ नागरिक र सुत्केरी महिला प्रत्यक्ष मारका परेका छन् । त्रिपालमुनि बसिरहेका भूकम्पपीडितहरूको स्वास्थ्य हिउँदे वर्षाको कारण थप जोखिममा परेको छ । यस्तो बेला रुकुम पश्चिमका दुई जना सुत्केरीलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १४ की १८ वर्षीया कल्पना विक र सानीभेरी गाउँपालिका वडा नम्बर ४ निवासी २६ वर्षीया माया घर्ती ओलीलाई सहयोग उपलब्ध गराइएको हो । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास (फ्रान्स) ले दुई जना सुत्केरीलाई जनही ५८ हजार पाँच सयका दरले एक लाख १७ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

इनासका युरोप क्षेत्रीय संयोजक प्रकाश तिवारीले नेपाल आएका बखत पत्रकार महासंघ रुकुम पश्चिमका जिल्ला अध्यक्ष लक्ष्मण केसीलाई काठमाडौं सहयोग रकम हस्तान्तरण गरेका थिए। सहयोग रकम हस्तान्तरण गर्ने क्रममा तिवारीले इनास फ्रान्सले दशैं तिहारको अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको दशैं तिहार धमाका नामक कार्यक्रम स्थगित गरेर कार्यक्रम गर्न लाग्ने खर्च भूकम्प प्रभावित सुत्केरीलाई पठाएको जनाए।

इनास फ्रान्सका अध्यक्ष आभास आचार्यले विपद्को बेला जोखिममा रहेका सुत्केरीहरुलाई आवश्यक राहत तथा स्वास्थ्य सामग्री खरिदमा सहयोग पुर्‍याउने उद्धेश्यले सहयोग गरिएको बताए । उनका अनुसार चिसो मौसममा सुत्केरीहरूको स्वास्थ्यमा थप समस्या नआओस् भनेर सहयोग गरिएको हो । यसका लागि इनास फ्रान्सको कार्यसमिति तथा इनास फ्रान्सका सम्पूर्ण शुभचिन्तकप्रति आभारी रहेको आचार्यको भनाइ छ। कल्पनाको १९ दिने छोरा रहिस बिकको भूकम्प परेर मृत्यु भएको थियो । शल्यक्रिया गरेर छोरालाई जन्म दिएकी उनी भूकम्पमा परेर घाइतेसमेत भएकी थिइन् ।

Kantipur Dailyप्रकाशित : मंसिर १९, २०८० १०:१६

 

© 2026 All right reserved to INAS GLOBAL  | Site By : sobij