
युरोप । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को दशौँ युरोप क्षेत्रीय कार्यक्रम आगामी मे महिनाको १६ र १७ तारिकका दिन डेनमार्कको राजधानी कोपनहेगनमा आयोजना हुने भएको छ।
युरोप महादेशकै एक प्रतिष्ठित र भव्य सांस्कृतिक कार्यक्रमको रुपमा हेरिने यस क्षेत्रीय कार्यक्रमको जिम्मेवारी इनास ग्लोबलले गत वर्ष फ्रान्सको पेरिसमा सम्पन्न नवौँ क्षेत्रीय कार्यक्रमका क्रममा डेनमार्कलाई सुम्पिएको थियो।
दुई दिनसम्म विविध कार्यक्रम
इनास युरोप क्षेत्रीय समिति तथा राष्ट्रिय समिति डेनमार्कको आयोजनामा दुई दिनसम्म चल्ने यस कार्यक्रमको पहिलो दिन युरोपभरका इनास प्रतिनिधिहरु, कलाकार तथा स्थानीय संघ-संस्था र निकायका प्रमुखहरुको सहभागीतामा युरोपीयन क्षेत्रीय सम्मेलन आयोजना गरिने र दोस्रो दिन, युरोप र अन्य महादेशबाट आएका कलाकारहरुको प्रस्तुतिसहित दशौँ युरोपस्तरीय एकल नृत्य प्रतियोगिता र सातौँ एकल गायन प्रतियोगिता आयोजना गरिने जानकारी इनास ग्लोबलकातर्फबाट कार्यक्रमको संयोजन प्रतिनिधिको रुपमा रहेका महासचिव राजमान तामाङ्ग र आयोजक राष्ट्रिय समिति इनास डेनमार्कका अध्यक्ष सुदीप बाबु श्रेष्ठले गराएका छन्।
युरोप महादेशकै एक विशाल कार्यक्रममा बेलायत, फ्रान्स, बेल्जियम, अष्ट्रिया, जर्मनी, डेनमार्क, नेदरल्याण्ड, ईटाली, पोल्याण्ड, स्पेन, पोर्चुगल, माल्टा, फिनल्याण्ड, स्विटजरल्याण्ड, चेक गणतन्त्र, नर्वे, आइसल्याण्ड, रोमानिया क्रोसिया लगायतका मुलुकहरुबाट कलाकार, साहित्यकार, पत्रकार, नेपाल सरकारका प्रतिनिधि, युरोपस्थित नेपाली कुटनीतिक निकायका पदाधिकारी, गैरआवासीय नेपाली संघका प्रतिनिधि, व्यवसायी, मिडीयाकर्मी, युरोपस्थित इनासका सम्पूर्ण राष्ट्रिय समिति तथा इनास ग्लोबलका पदाधिकारीहरु समेतको उल्लेख्य सहभागिता रहने समेत उनीहरुले बताए।
प्रतियोगितामा सहभागिता कसरी गर्ने?
नृत्य र गायन प्रतियोगितामा भाग लिन चाहने प्रतिभावान कलाकारहरुले आफू बस्ने राष्ट्रमा रहेको इनासको राष्ट्रिय समितिसँग सम्पर्क गरी प्रारम्भिक अडिसनमा भाग लिनुपर्ने र इनासको राष्ट्रिय समिति नभएका युरोपेली मुलुकका कलाकारहरुले इनास युरोपसँग सिधा सम्पर्क गरेर सहभागिता जनाउनसक्ने युरोप संयोजक प्रकाश तिवारीले बताएका छन्।
यसका लागि इनास युरोपको ईमेल inaseurop@gmail.com मा सम्पर्क गर्न सकिनेछ। ‘प्रतियोगितासम्बन्धी नियम, आवेदन बुझाउने अन्तिम मिति लगायतका विस्तृत जानकारी केही दिनभित्र सार्वजनिक गराउनेछौं।’ ग्लोबल प्रवक्ता समेत रहेका तिवारीले बताए।
कार्यक्रमलाई भव्य बनाउन आयोजक राष्ट्र डेनमार्कसहित युरोपभरका इनास युरोप र त्यस मातहतका राष्ट्रिय समितिहरु, डेनमार्क स्थित संघ-संस्थाका प्रतिनिधि, व्यवसायी, तथा मिडियाकर्मीहरुको समन्वयमा तयारीलाई तीव्र पारिएको बताउँदै उनले यस कार्यक्रमले युरोपभर रहेका नेपाली समुदायबीच एकता, सांस्कृतिक आदान प्रदान र प्रतिभाको प्रोत्साहनमा ठूलो योगदान पुर्याउने विश्वास समेत व्यक्त गरेका छन्।