अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) संगठनात्मक प्रतिवेदन कार्यकाल २०२३-२५
श्री संस्थापक अध्यक्षज्यू, निवर्तमान अध्यक्षज्यू, अध्यक्षज्यू तथा सम्पूर्ण ग्लोबल पदाधिकारीज्यूहरु,
यहाँहरु सबैसमक्ष म कार्यकाल २०२३/२०२५ को संस्थाको साङ्गठनिक प्रतिवेदन पेश गर्ने अनुमति चाहान्छु।
१. साङ्गठनिक अवस्था :
सन् २०१२ मा स्थापित यस संस्थाले आफ्नो उपस्थिति प्राय: सबै महादेशहरुमा जनाइसकेको कुरा त सबैलाई अवगत नै छ। बीचमा कोरोनाको महामारी भूकम्पको प्रकोप आदिका बाबजुद पनि यस संस्थाले आफ्नो कामको गतिमा कमी नल्याएको र निरन्तरता दिएको सर्वविदितै छ। मैले महासचिवको पद ग्रहण गरिसकेपछि उक्त गतिमा कुनै कमी आएको छैन। नेपाली कला, संस्कृतिको जगेर्ना तथा प्रवर्द्धन गर्ने कार्य यस अवधिमा पनि निरन्तर रह्यो।
२. साङ्गठनिक विस्तार
यस अवधिमा पोर्चुगल र लक्जमबर्गमा संस्थाको बिस्तार तथा पूनर्गठनको पहल भएको छ। पोर्चुगलमा रहेको राष्ट्रिय समितिलाई पून: सकृय बनाउन त्यहाँ राष्ट्रिय अधिवेशन गराई समिति निर्माण गर्ने कार्य समेत भएको छ। जसलाई क्षेत्रीय समिति युरोपले अनुमोदनको लागि ग्लोबल समितिमा पठाएको र ग्लोबल समितिद्वारा अनुमोदनको प्रकृयामा रहेको व्यहोरा सहर्ष जानकारी गराउछु ।
अघिल्ला अवधिहरुमा जस्तै यस अवधिमा पनि विभिन्न मूलुकहरुमा रहेका राष्ट्रिय र राज्य समितिहरुले सकृयताका साथ काम गरेका छन्। तर कतार, कुवेत, अष्ट्रेलिया, इजरायल, हंगकंग, नेपाल लगायतका कतिपय राष्ट्रिय समिति तथा ती राष्ट्रिय समितिहरु अन्तर्गतका राज्यसमितिहरु विविध कारणहरुले गर्दा त्यति सकृय देखिएन् भने ती राष्ट्रिय समितिहरुद्वारा तोकिए बमोजिमको कार्यक्रमहरु आयोजना समेत भएनन्। तर युएई, डेनमार्क, युके, फ्रान्स, जर्मनी, बेल्जियम, पोल्याण्ड, चेक गणतन्त्र, अमेरिका लगायतका धेरै राष्ट्रिय समितिहरु विगत जस्तै र कतिपय बिगतको भन्दा बढि नै सकृय देखिए। जुन संस्थाको लागि एउटा राम्रो र सकारात्मक पक्षको रुपमा मैले लिएको छु।
३. चलचित्र प्रदर्शन तथा यसको बजार विस्तार:
यस अवधिमा चलचित्र प्रवर्द्धन र बजार विस्तारका लागि समेत केहि कार्यहरु भएका छन्। सकेसम्म संस्थागत रुपमा र यदि संस्थागत रुपमा नसकेको अवस्थामा समितिका पदाधिकारीहरु संलग्न भएर उनीहरुकै पहलमा समेत नेपाली चलचित्रको प्रदर्शन गरिएका छन्। यस अवधिमा विभिन्न राष्ट्रिय समितिहरुद्वारा झण्डै २० भन्दा बढि चलचित्रहरु प्रदर्शन गरिएका छन्।
४. सांस्कृतिक प्रवर्द्धनमा भएका कार्यहरु
यस अवधिमा क्षेत्रीय, राष्ट्रिय र राज्य समितिहरुद्वारा प्राय: सबै महादेशहरुमा सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएका छन् ।
विश्वस्तरमा निकै चासोको रुपमा हेरिने युरोप महादेशस्तरीय कार्यक्रम २०२४ मा फ्रान्स र २०२५ मा डेनमार्कमा सफलतापूर्वक सम्पन्न भएको छ। भने आगामी क्षेत्रीय कार्यक्रम राष्ट्रिय समिति बेल्जियममा हुने गरि तय गरिसकिएको छ। त्यस्तै अमेरिकास्तरीय राष्ट्रिय सम्मान कार्यक्रम, युएईमा आयोजना हुने मध्यपूर्व एसियास्तरीय इनास सांस्कृतिक धमाका लगायतका संस्थाद्वारा गरिदै आएका वृहत कार्यक्रमहरुले यस अवधिमा समेत निरन्तरता पाएका छन् भने ती कार्यक्रमहरुले ऐतिहासिक रुपमा सफलता प्राप्त गरेका छन्। यस अवधिमा जर्मनी, डेनमार्क, बेल्जियम, पोल्याण्ड, नेदरल्याण्डस, फ्रान्स, बेलायत, अमेरिका, युएई, बहराइन, लगायतका मुलुकहरुले कार्नावाल फेस्टिभल, विश्व पर्यटन मेला लगायतका विशाल र प्रसिद्ध कार्यक्रमहरुमा सहभागिता जनाएर संस्थालाई गरिमामय स्थानमा पुर्याए भने इनास जर्मनीले कार्नाभल फेस्टिभलमा सडकमा सुन्दर नेपाली नृत्य प्रस्तुत गरेर प्रथम पुरस्कार प्राप्त गर्न सफल गरि एउटा ईतिहास बनाउन समेत सफल भएको छ। यसका अलावा संस्थाका प्राय: सबै जसो राष्ट्रिय र राज्य समितिहरुले यस अवधिमा आफैले र कतिपय अवस्थामा अरु संघसंस्थाहरुसंग सहकार्य गरेर तीज, दशैं, तिहार लगायतका पर्वहरुमा सांस्कृतिक कार्यक्रमहरु आयोजना गरेर सांस्कृतिक प्रवर्द्धनमा योगदान पुर्याएका छन्।
५. प्रतिभाहरुको पहिचान र कदर सम्बन्धी कार्यहरु:
नेपाली प्रतिभाहरुको पहिचान गरि उनीहरुको प्रतिभालाई कदर गर्ने कार्य यस अवधिमा समेत निरन्तर रह्यो। यसका लागि राष्ट्रिय समितिहरुले सकेको पहल गरेका छन्। यसका साथै नेपाली वालवालिकाहरुलाई भाषा, नृत्य तथा संगीत कक्षाहरु संचालन गरेर भावी पुस्ताका लागि संस्थागत रुपमा एउटा मार्गचित्र तयार गर्ने कार्यहरु समेत राष्ट्रिय समितिहरुबाट भएका छन्। जुन असाध्यै सराहनीय र प्रसंसनीय छ।
६. विषयगत समितिहरु
केन्द्रिय विधानमै उल्लेख गरेर हामीले विषयगत समितिहरु बनाएर जिम्मेवारी समेत तोकिका थियौं। तर विषयगत समितिहरुको आफूलाई जिम्मेवारी दिइएको विषयहरुमा समेत कुनै सकृयता देखाएको पाइएन। भाषा तथा साहित्य प्रवर्द्धन समिति, वाल प्रतिभा प्रवर्द्धन समिति, खेलकूद समिति र ललितकला प्रवर्द्धन समितिको कार्य लगभग शून्य रह्यो भने अन्य समितिहरुको कार्य पनि त्यति सन्तोषजनक रहेको पाइएन।
८. ग्लोबल भवन सम्बन्धी कार्य
संस्थाको एउटा ड्रिम प्रोजेक्टको रुपमा रहेको केन्द्रिय सम्पर्क भवन निर्माणमा केहि पहल भए पनि ठोस नतिजामा पुग्न सकिएन। सरकारी तवरबाट जग्गा प्राप्तिको लागि ओडास्तरबाट सिफारिस भएको र उक्त सिफारिस नगरपालिका प्रमुखबाट सदर हुन बाकी रहेको अवस्थामा नेपालमा हुने गरेका राजनैतिक अस्थिरता र सरकार परिवर्तन जस्ता कारणले उक्त पहल निष्कर्षमा पुग्न सकेको छैन। तर पनि विश्वबाट नेपाल आउने इनासका पदाधिकारीहरुको लागि महत्वपूर्ण हुने संस्थाको केन्द्रिय सम्पर्क भवन निर्माणको पहल अब निष्कर्षमा पुर्याउनु अनिवार्य छ। यो विषयलाई यस अधिवेशनले निष्कर्षमा पुर्याउनेछ भन्ने मैले विश्वास गरेको छु।
९. वेभसाइट निर्माण:
संस्थाको परिचय, यसको उद्देश्य, संस्थागत अवस्था तथा सम्पादित कार्य एवं भावी योजनाहरु लगायतका संस्थाको समग्र कार्यको जानकारी प्रदान गर्न मुखपत्रको रुपमा रहने वेभसाइट लामो समयसम्म संचालनमा आउन सकेन। संस्था स्थापनाका बखत www.inasociety.com र त्यसपछि www.inas,global नामले संस्थाको केन्द्रिय वेभसाइट संचालनमा ल्याइएतापनि विविध कारणले तीनमा समस्या उत्पन्न भयो र ती बन्द भए । त्यसपछि लामो समयसम्म संचालनमा आउन नसकेको संस्थाको केन्द्रिय वेभसाइटलाई www.inasglobal.org र www.inasglobal.net नामबाट नयाँ ढाँचामा निर्माण गरि पून: संचालनमा ल्याइएको छ । ग्लोबल समितिको निर्णयलाई पूर्णरुपमा आत्म-सात गरि यसको निर्माणमा अहोरात्र खट्नुहुने युरोप संयोजक तथा ग्लोबल प्रवक्ता श्री प्रकाश तिवारीज्यूलाई विशेष धन्यवाद भन्न चाहान्छु।
१०. संस्थागत कार्ययोजना तथा गरिनुपर्ने थप सुधारहरु:
संस्थागत कार्ययोजनाहरु निर्माण हुने तर कार्यान्वयन नहुने अवस्था धेरै देखिएकोछ। हामी संस्थागतरुपमा निर्णय भएका परियोजनाहरु समेत अघिबढ्न सकेका छैनन। त्यसै गरि कतिपय गठन भएका राष्ट्रिय समिति र संयोजन समितिहरु सक्रिय हुन सकेका छैन। कतार, कुवेत, स्विट्जरल्याण्ड, फिनल्याण्ड, ईटली, साइप्रस, इजरायल, ईण्डिया, अष्ट्रेलिया, क्यानाडा, हंगकंग, सिगापुर, थाइल्याण्ड लगायतका मुलुकहरुमा समयमै अधिवेशन गरि समिति गठन हुन नसक्नु र महत्वपूर्ण कार्यक्रमहरु समेत आयोजना गर्न नसक्नु पक्कै पनि सकारात्मक कुरा होइन। कतिपय राष्ट्रिय समितिहरुले अधिवेशन गरि कार्यसमिति निर्माण गरे पनि यस अवधिमा कुनै पनि कार्यक्रमहरु आयोजना गर्न वा उद्देश्य अनुरुप अघिबढ्न समर्थ देखिएनन। यी सबैको कारण पहिल्याई अघिबढ्नुपर्ने आवश्यकता देखिएको छ।
कतिपय महादेशहरुमा क्षेत्रीय समिति र राष्ट्रिय समिति बीच कार्यगतरुपमा तालमेल मिल्न नसकेको देखिन्छ। विशेष गरी अमेरिका र एसिया महादेशमा क्षेत्रीय समिति र राष्ट्रिय समितिहरुबीच संस्थागत कार्यप्रणाली, सम्पादित वा सम्पादन गर्नुपर्ने कार्य तथा योजनाहरु, उपल्लो निकायबाट प्रदान गरिने निर्देशनको पालना तथा संस्थागत कार्यसम्बन्धी सूचना प्रवाहमा कमी भएका गुनासाहरु प्राप्त भएका छन्। यस्ता कार्यहरुले संस्थाको संगठनात्मक पद्धतिमा नै नकारात्मक असर पार्ने कुराहरु तर्फ सजक हुनुपर्ने देखिएको छ। यसका साथै संस्थागत नियमनको दायरा र दण्ड सजाय जस्ता पक्षहरुलाई अझ बढि प्रभावकारी बनाएर लागू गर्न सकेको खण्डमा संस्था अझ बढि दरिलो र गर्विलो हुनेछ भन्ने मैले ठानेको छु।
अन्तमा, महासचिव जस्तो गरिमामय र महत्वपूर्ण पदीय जिम्मेवारीमा मलाई उपयुक्त र सक्षम सम्झिएर संस्थागत उत्तरदायित्व वहन गर्ने जुन अवसर दिनुभएको छ, त्यसको लागि म यहाँहरु प्रति हार्दिक आभार प्रकट गर्दछु। मैले महासचिव जस्तो महत्वपूर्ण भूमिकामा रहेर आफूले सकेको कर्तव्य निर्वाह गर्ने सक्दो कोसिस गरे। काम गर्दै जानेक्रममा पक्कै पनि मबाट केहि कमी-कमजोरीहरु भए होलान। तर ती कमी-कमजोरीहरुले मलाई संस्थाको बारेमा अझ बढि बुझ्ने, सिक्ने र जान्ने अवसर दिएको छ। पदीय जिम्मेवारी निर्वाह गर्ने क्रममा मैले यहाँहरु सबैबाट आवश्यक सल्लाह, सुझाव र सहयोग पाएँ । त्यसका लागि म सबैलाई धन्यवाद भन्न चाहान्छु।
धन्यवाद !
जय इनास !!
भवदीय,
राजमान तामाङ्ग
महासचिव
ग्लोबल समिति।
मिति १५ अक्टोबर २०२५,
काठमाण्डौ, नेपाल