श्री संस्थापक अध्यक्षज्यू, निवर्तमान अध्यक्षज्यू, अध्यक्षज्यू तथा सम्पूर्ण ग्लोबल पदाधिकारीज्यूहरू,
यहाँहरू सबैसमक्ष म कार्यकाल २०२३/२०२५ को इनास युरोप क्षेत्रीय समिति तथा ग्लोबल प्रवक्ताको संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने अनुमति चाहान्छु।
१. साङ्गठनिक अवस्था :
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) स्थापना भएदेखि नै नेपाली कला, संस्कृति, भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर कृयाशील रहँदै आएको छ।
विगत दुई वर्षको अवधिमा इनास युरोप क्षेत्रीय समितिले पनि यहि उद्देश्यअनुरूप महत्त्वपूर्ण प्रगतिहरु हासिल गर्न सफल भएको छ।
युरोप क्षेत्रअन्तर्गत रहेका राष्ट्रिय समितिहरुले आ-आफ्नो देशमा नेपाली समूदायलाई एकजुट गर्दै सांस्कृतिक, सामाजिक र संस्थागत कार्यहरू निरन्तर सञ्चालन गर्दै आएका छन्।
ग्लोबल प्रवक्ताको रूपमा मैले पनि संस्थाको सूचना, संचार र मिडिया समन्वयमा निरन्तर भूमिका निर्वाह गरेको छु।
२. साङ्गठनिक विस्तार :
इनास युरोप मातहत हालका सकृय देशहरूमा युके, फ्रान्स, जर्मनी, बेल्जियम, पोल्याण्ड, डेनमार्क, नेदरल्यान्ड्स, चेक रिपब्लिक, स्पेन, स्वीट्जरल्याण्ड पोर्चुगल अष्ट्रिया, ईटली र साइप्रस रहेका छन्।
यी देशहरूमध्ये कतिपय समितिहरू अत्यन्त सकृय छन् भने केही देशहरूलाई पूनः सकृय बनाउने कार्य जारी छ।
हालै इनास पोर्चुगल पुनर्गठन भई नयाँ समितिले कार्य प्रारम्भ गरेको छ भने लक्जम्बर्गमा नयाँ समिति गठनका लागि प्रारम्भिक पहल अघि बढाइएको छ।
युरोपका सबै राष्ट्रिय समितिहरूले आ-आफ्नो क्षमताअनुसार कार्यक्रम सञ्चालन गर्दै इनासको लक्ष्य-उद्देश्यप्रति आस्था प्रकट गर्दै आएका छन्।
३. कार्यक्रम र उपलाव्धिहरु :
गत दुई वर्षमा इनास युरोप क्षेत्रीय समिति तथा विभिन्न राष्ट्रिय समितिहरूद्वारा उल्लेखनीय गतिविधिहरू सम्पन्न भएका छन्।
युरोप महादेशीय कार्यक्रमहरू
सन् २०२४ मा फ्रान्स (पेरिस) र सन् २०२५ मा डेनमार्क (कोपेनहेगन) मा सम्पन्न दुईवटै महादेशीय कार्यक्रमहरू अत्यन्त सफल र ऐतिहासिक बनेका छन्।
यी कार्यक्रमहरूमा युरोपका साथै विश्वभरका कलाकारहरूको सहभागिता रह्यो र यसले इनास युरोपलाई विश्वमञ्चमा गौरवपूर्ण पहिचान दिलायो।
इनास जर्मनीले २०२४ को कार्नाभल फेस्टिभलमा नेपाली सांस्कृतिक झाँकी सहितको प्रदर्शन गरेर प्रथम पुरस्कार प्राप्त गर्दै इतिहास रच्यो।
इनास पोर्चुगल पूनर्गठन भई स्थानीयस्तरमा नयाँ उत्साह र ऊर्जासहित कार्य प्रारम्भ गरेको छ।
आगामी क्षेत्रीय कार्यक्रम २०२६ बेल्जियममा आयोजना गर्ने निर्णय भइसकेको छ।
यसका अतिरिक्त युरोपका विभिन्न राष्ट्रिय समितिहरूले तीज, दशैं, तिहार, नयाँ वर्ष लगायतका पर्वहरूमा विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै नेपाली कला र संस्कृतिको प्रचार-प्रसारमा उल्लेखनीय योगदान पुर्याएका छन्।
४. सांस्कृतिक प्रवर्द्धनमा भएका कार्यहरू :
युरोपका राष्ट्रिय समितिहरूले स्थानीय र अन्तर्राष्ट्रिय स्तरका सांस्कृतिक महोत्सव, नृत्य, संगीत र कला प्रदर्शनीहरूमा सहभागिता जनाएर नेपाली समूदायको पहिचान उजागर गर्न सफल भएका छन्।
इनास जर्मनी, बेल्जियम, फ्रान्स, डेनमार्क र पोल्याण्डले कार्नाभल फेस्टिभल र विश्व पर्यटन मेलाजस्ता प्रतिष्ठित कार्यक्रममा नेपाली संस्कृति देखाएर संस्थालाई अन्तर्राष्ट्रिय पहिचान दिलाएका छन्।
५. प्रतिभा पहिचान र कदर :
इनास युरोप मातहतका विभिन्न देशहरूमा रहेका समितिहरूले स्थानीय कलाकार, बालबालिका लगायत प्रतिभाहरूको पहिचान र सम्मानका कार्यक्रमहरू सञ्चालन गरेका छन्।
युरोपका कतिपय देशमा बाल-प्रतिभा विकास कार्यक्रम, नृत्य तथा भाषा कक्षा सञ्चालन भई आगामी पुस्तालाई नेपाली संस्कृति र भाषासँग जोड्ने प्रयास गरिएको छ, जुन अति सराहनीय छ।
६. समस्या र चुनौतीहरू :
- सीमित आर्थिक स्रोत र समय अभाव
- कतिपय राष्ट्रिय समितिहरू निष्कृय
- समन्वय र संचार प्रणालीमा सुधारको आवश्यकता
७. ग्लोबल प्रवक्ताको हैसियतमा :
ग्लोबल प्रवक्ताको रूपमा मैले पछिल्ला दुई वर्षमा संस्था र संस्थाद्वारा सम्पादित कार्यहरुको प्रचार-प्रसार, समाचार सम्प्रेषण, डिजिटल सामग्री निर्माण र मिडिया संयोजनमा निरन्तर सक्रियता देखाएको छु।
इनासको केन्द्रिय वेबसाइट निर्माण (www.inasglobal.org र www.inasglobal.net) कार्य सफलतापूर्वक सम्पन्न गरि सञ्चालनमा ल्याइएको छ, जसले संस्थाको छवि अझ विश्वसनीय र पारदर्शी बनाएको छ।
त्यसैगरी, संस्थाको सामाजिक सञ्जाल संचालन र व्यवस्थापनमा पनि सकृय भूमिका निर्वाह गर्दै आएको छु। कार्यक्रम, सूचना र सन्देशसम्बन्धी पोस्टर डिजाइन, ग्राफिक निर्माण र प्रकाशन कार्य नियमित रूपमा सम्पन्न हुँदै आएको छ। जसले संस्थाको विश्वव्यापी पहुँच उल्लेखनीय रूपमा बढाएको छ।
ग्लोबलस्तरमा संस्थाका विभिन्न गतिविधिहरू कार्यक्रम तर्जूमा, पूनर्गठन, अनुमोदन, र आधिकारिक सूचना समयमै सम्प्रेषण गर्न निरन्तर समन्वयात्मक भूमिका निभाएको छु।
यस कार्यका लागि ग्लोबल समितिको विश्वास र जिम्मेवारी पाएकोमा म गौरवान्वित महसुस गर्दछु र भविष्यमा संस्थाको डिजिटल प्रचार-प्रसारलाई अझ आधुनिक र संगठित बनाउने प्रतिवद्धता व्यक्त गर्दछु।
८. आगामी योजना :
- निष्कृय रहेका राष्ट्रिय समितिहरूलाई पून: सकृय बनाउने र नयाँ गठन प्रकृया अगाडि बढाउने।
- युरोपमा रहेका नेपाली कलाकारहरूको एकिकृत डिजिटल डेटा प्रणाली विकास गर्ने।
- इनासका बिजेता तथा अन्य कलाकारहरुलाई समूहमा आवद्व गरेर इनास म्यूजिकल ब्याण्ड तथा कल्चरल टिमको निर्माण गर्ने ।
- विभिन्न देशका कलाकारहरूबीच अन्तरकृया र सहकार्य अभिवृद्धि गराउने उद्देश्यले “Cultural Exchange Workshops” सञ्चालन गर्ने।
- युरोपमा रहेका वरिष्ठ कलाकार तथा साहित्यकारहरूको सम्मान र अनुभव आदान-प्रदान कार्यक्रम सुरु गर्ने।
- युरोपमा जन्मेका वा हुर्किरहेका नेपालीमूलका युवालाई नेपाली कला र संस्कृति प्रवर्द्धन सम्बन्धी अभियानमा सकृय बनाउन विशेष योजना बनाउने।
- डिजिटल प्लेटफर्म र वेभसाइटमार्फत सूचना प्रवाह सुदृढ गर्ने।
- महिला कलाकारलाई नेतृत्व भूमिकामा ल्याउने
- INAS Global Building र Blood Bank अभियानलाई युरोपस्तरमा प्रचार गर्ने।
९. निष्कर्ष :
इनास युरोप क्षेत्रीय समितिले गत दुई वर्षमा उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ। यो सफलताको श्रेय सबै राष्ट्रिय समितिका अध्यक्ष, पदाधिकारी, सदस्य र कलाकारहरूको सामूहिक प्रयासलाई जान्छ। आगामी दिनमा इनास युरोपले अझ सशक्त, अनुशासित र एकीकृत रुपमा संस्थालाई विश्वमञ्चमा पुर्याउने दृढ विश्वास व्यक्त गर्दछु।
अन्त्यमा, मलाई यो महत्वपूर्ण जिम्मेवारी सुम्पनु हुने ग्लोबल समिति र सबै सहकर्मीप्रति हार्दिक आभार प्रकट गर्दछु। कामको क्रममा केही कमी-कमजोरीहरू भएमा त्यसलाई सुधारका अवसरको रूपमा ग्रहण गर्दछु।
जय इनास !!
धन्यवाद।
भवदीय,
प्रकाश तिवारी
संयोजक – इनास युरोप क्षेत्रीय समिति
प्रवक्ता – इनास ग्लोबल समिति
मिति: १५ अक्टोबर २०२५
स्थान: काठमाडौं, नेपाल