युरोप ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप महादेशस्तरीय (क्षेत्रीय) कार्यक्रम २४ र २५ अप्रिल २०२६ का दिन बेल्जियमको Maldegem स्थित Eventhall-me मा हुने भएको छ। दुई दिनसम्म आयोजना गरिने कार्यक्रममा पहिलो दिन क्षेत्रीय सम्मेलन गरिने छ र दोश्रो दिन युरोपस्तरीय नृत्य र गायन प्रतियोगिता हुनेछ। कार्यक्रमको पहिलो दिन युरोपमा रहेका इनासका राष्ट्रिय समितिहरुले एक वर्षसम्म गरेका काम-कारवाहिहरु र आउदो वर्षका लागि तय गरेका कार्ययोजनाहरु समेटेर प्रतिवेदन प्रस्तुत गर्ने र त्यस उपर छलफल गरि कार्यपत्र तयार पारिनेछ भने दोश्रो दिन महादेशस्तरीय एकल नृत्य र गायन प्रतियोगिता हुनेछ।
प्रतियोगितामा सहभागिता कसरी जनाउने ?
नृत्य र गायन प्रतियोगितामा भाग लिन इच्छुक प्रतिभावान कलाकारहरूले आफू बस्ने राष्ट्रमा रहेको इनासको राष्ट्रिय समितिसँग सम्पर्क गरी प्रारम्भिक अडिसनमा भाग लिनुपर्नेछ। इनासको राष्ट्रिय समिति नभएका युरोपेली मुलुकका कलाकारहरूले इनास युरोपसँग सिधा सम्पर्क गरेर सहभागिता जनाउन सक्नेछन्। यसका लागि इनास युरोपको ईमेल inaseurop@gmail.com मा सम्पर्क गर्न सकिनेछ।
प्रत्येक राष्ट्रिय समितिले नृत्य र गायन प्रतियोगितामा सहभागी गराउने प्रतियोगीका लागि यहि १५ मार्च २०२६ सम्म अडिसन सम्पन्न गरि प्रतियोगीको नामावली पठाउनुपर्नेछ। प्रतियोगितामा भाग लिन चाहाने प्रतियोगीले निम्नानुसारको नियम निर्धारण गरिएको छ।
गायन प्रतियोगितासम्बन्धी नियमहरु:
- प्रतियोगीले गाउने गीत नेपाली भाषाको हुनुपर्छ।
- गायन एकल हुनुपर्नेछ।
- प्रतियोगितामा प्रस्तुत गर्ने गीतको छनौट प्रतियोगी आफैले गर्नुपर्नेछ।
- प्रतियोगितामा नेपाली भाषी महिला तथा पुरुष दुवैले भाग लिन सक्नेछन्।
- प्रतियोगीको उमेर कम्तिमा तेह्र वर्ष हुनुपर्नेछ।
- प्रतियोगितामा व्यक्तिगत वा संस्थागतरुपमा भाग लिन पाइनेछ। संस्थागतरुपमा भाग लिने प्रतियोगीले अनिवार्यरुपमा आफूले प्रतिनिधित्व गर्ने संस्थाको पत्र पेश गर्नुपर्नेछ।
- प्रतियोगीले आधुनिक (पप, ज्याज, चलचित्रका गीतहरु वा अन्य आधुनिक विधाका गीतहरु) र लोक (नेपाली संस्कृति, परम्परा र जीवनशैली झल्कने प्रचलित ठेट लोक भाका) गरी दुई विधामा गीत गाउनुपर्नेछ।
- आधुनिक गीत म्युजिक ट्रयाकमा वा वाद्यवादन प्रयोग गरी गाउन सकिनेछ। तर लोकगीत प्रत्यक्ष वाद्यवादनमा मात्रै गाउनुपर्नेछ। लोकगीत प्रस्तुत गर्दा गीतलाई सुहाउँदो नेपाली भेषभूषासहितको पहिरनलाई सराहना गरिनेछ।
- प्रतियोगीले छनोट गरेको गीत लोक विधाअन्तर्गत नपरेको खण्डमा गीत परिवर्तन गर्न लगाइनेछ।
- आधुनिक गीतका लागि म्युजिक ट्रयाकको व्यवस्था प्रतियोगी आफैंले गर्नुपर्नेछ। लोकगीतका लागि (मादल, हार्मोनियम, किबोर्ड, पियानो) मध्ये कुनै एक उपलब्ध गराइनेछ।
- प्रत्येक गीत प्रस्तुत गर्न अधिकतम ४ मिनेट प्रदान गरिनेछ।
- प्रतियोगीले प्रतियोगितामा प्रस्तुत गर्ने गीतको बोलसम्बन्धी सम्पूर्ण जानकारी निवेदनका साथमा पठाउनुपर्नेछ।
- प्रतियोगितामा भाग लिन इच्छुक कलाकारले सन् २०२६ मार्च १५ भित्र पासपोर्ट साइजको फोटोसहित तोकिएअनुसारको फारम भरी आवेदन दिनुपर्नेछ। फारम इनास युरोप अन्तर्गतका राष्ट्रिय समितिहरुबाट प्राप्त गर्न सकिनेछ।
- आवेदन शुल्क ५० यूरो लाग्नेछ। आवेदन वापत बुझाएको रकम फिर्ता हुनेछैन।
- प्रतियोगितामा हरेक देशबाट एक जना प्रतियोगीले भाग लिन पाउनेछन्। तर आयोजक राष्ट्रबाट भने दुईजना प्रतियोगीले भाग लिन पाउनेछन्।
- प्रतियोगीले आफूले नृत्य गर्ने गीतको बोल र सोको ट्रयाक आवेदनसँगै बुझाउनुपर्नेछ।
- मादक पदार्थ सेवन गरेर आउने प्रतियोगीलाई प्रतियोगितामा समावेश गरिनेछैन।
- प्रतियोगीलाई दुई दिन (२४ र २५ अप्रिल, २०२६) सम्म खाने र बस्ने व्यवस्था गरिनेछ। अन्य व्यवस्था भने प्रतियोगी आफैले गर्नुपर्नेछ।
- प्रतियोगीले गायनमा प्रस्तुत गर्ने सुर, ताल, नोटेशन, टाइमिङ्ग आदिलाई मूल्यांकन गरी निर्णय गर्न एक निर्णायक समिति रहनेछ।
- निर्णायक समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ।
- प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विजेताले एक वर्षका लागि इनास युरोपको अवैतनिक सद्भावना दूत (INAS Europe Goodwill Ambassador) को उपाधिसहित ८०० युरो नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो स्थान हासिल गर्ने प्रतियोगीले क्रमशः ५०० र ३०० युरो नगद र प्रमाणपत्र प्राप्त गर्नेछन्। चौथो स्थान हासिल गर्ने प्रतियोगीलाई ‘विशेष संस्थागत सम्मान’ स्वरुप १५० युरो नगद, ट्रफी र प्रमाणपत्रले सम्मानित गरिनेछ। विजेताहरुलाई चलचित्र, म्युजिक भिडियोमा अभिनय गर्ने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा प्रस्तुति दिने अवसर प्रदान गरिनेछ।
नृत्य प्रतियोगितासम्बन्धी नियमहरु:
- प्रतियोगीले नेपाली भाषाको गीतमा मात्र नृत्य प्रस्तुत गर्नुपर्नेछ।
- नृत्य एकल हुनुपर्नेछ।
- नृत्य गर्ने गीतको छनौट प्रतियोगी आफैले गर्नुपर्नेछ।
- प्रतियोगितामा नेपाली भाषी महिला र पुरुष दुवैले भाग लिन सक्नेछन्।
- प्रतियोगीको उमेर कम्तिमा तेह्र वर्ष हुनुपर्नेछ।
- प्रतियोगितामा व्यक्तिगत वा संस्थागतरुपमा भाग लिन पाइनेछ। संस्थागतरुपमा भाग लिने प्रतियोगीले अनिवार्यरुपमा आफूले प्रतिनिधित्व गर्ने संस्थाको पत्र पेश गर्नुपर्नेछ।
- प्रतियोगीले नृत्य गर्ने गीत बढीमा चार मिनेटको हुनुपर्नेछ।
- नृत्यका लागि आवश्यक सम्पूर्ण सामग्री प्रतियोगी आफैले व्यवस्था गर्नुपर्नेछ।
- प्रतियोगीले लोक (झ्याउरे, टप्पा, मारुनी, सोरठी, चुट्का, देउडा, हुड्क्यौली, कुमारी, मन्जूश्री, लाखे भैरव, साकेला, घाटु आदि) र आधुनिक (आधुनिक, पप, ज्याज, ब्रेक, रिमिक्स आदि) गरी दुई विधामा नृत्य प्रस्तुत गर्नुपर्नेछ।
- लोक विधा अन्तर्गतको गीतमा रिमिक्स गर्न पाइने छैन।
- प्रतियोगितामा भाग लिन इच्छुक कलाकारले सन् २०२६ मार्च १५ भित्र पासपोर्ट साइजको फोटोसहित तोकिएअनुसारको फारम भरी आवेदन दिनुपर्नेछ। फारम इनास युरोप अन्तर्गतका राष्ट्रिय समितिहरुबाट प्राप्त गर्न सकिनेछ।
- आवेदन शुल्क ५० युरो लाग्नेछ। आवेदन वापत बुझाएको रकम फिर्ता हुनेछैन।
- प्रतियोगितामा हरेक देशबाट एक जना प्रतियोगीले भाग लिन पाउनेछन्। तर आयोजक राष्ट्रबाट भने दुईजना प्रतियोगीले भाग लिन पाउनेछन्।
- प्रतियोगीले आफूले नृत्य गर्ने गीतको बोल र सोको ट्रयाक आवेदनसँगै बुझाउनुपर्नेछ।
- मादक पदार्थ सेवन गरेर आउने प्रतियोगीलाई प्रतियोगितामा समावेश गरिनेछैन।
- प्रतियोगीलाई दुई दिन (२४ र २५ अप्रिल, २०२६) सम्म खाने र बस्ने व्यवस्था गरिनेछ। अन्य व्यवस्था भने प्रतियोगी आफैले गर्नुपर्नेछ।
- नृत्य गर्ने गीत अनुसारको भेषभूषा, हाउभाउ, नृत्यको सुरुवात, अन्त्य लगायतलाई मूल्यांकन गरी निर्णय गर्न एक निर्णायक समिति रहनेछ।
- निर्णायक समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ।
- प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विजेताले एक वर्षका लागि इनास युरोपको अवैतनिक सद्भावना दूत (INAS Europe Goodwill Ambassador) को उपाधिसहित ८०० युरो नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो स्थान हासिल गर्ने प्रतियोगीले क्रमशः ५०० र ३०० युरो नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। चौथो स्थान हासिल गर्ने प्रतियोगीलाई ‘सन्तकुमार थापा मगर’ विशेष स्मृति पुरस्कार स्वरुप १५० युरो नगद, ट्रफी र प्रमाणपत्रले सम्मानित गरिनेछ। विजेताहरुलाई चलचित्र, म्युजिक भिडियोमा अभिनय गर्ने तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा प्रस्तुति दिने अवसर प्रदान गरिनेछ।